
राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनाका लागि विभिन्न पदमा आवेदन खुलाएको छ । सरकारी स्वामित्वकाे यस बैंकले चारदेखि नौ तहसम्मका पदहरूका लागि कर्मचारी भर्ना गर्न लागेको हाे ।
कूल कर्मचारीमध्ये खुलाबाट २२१ जना, महिला समूह ७६ जना, आदिवासी जनजाति ५९ जना, मधेसी ४७ जना, दलित २८ जना, अपाङ्गता भएकाबाट १५ जना र पिछडिएको क्षेत्रबाट १९ जना नियुक्त हुनेछन् ।
बैंकका अनुसार प्रशासन समूह अन्तर्गत वरिष्ठ प्रवन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, लेखा समूह अन्तर्गत उपप्रबन्धक, कानूनतर्फ सहायक प्रबन्धक, सूचना प्रविधि समूह अन्तर्गत सहायक प्रबन्धक, कृषि समूह अन्तर्गत सहायक प्रबन्धक, नगद समूह अन्तर्गत सहायक प्रबन्धक लगायतका पदमा आवेदन खुलेको छ ।
योग्यता पुगेका इच्छुक नागरिकले असार ३० गतेसम्म सामान्य शुल्क तिरेर र साउन ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । यसैबीच हामीले राष्ट्रिय वाणिज्य बैंकले माग गरेकाे विभिन्न पदका लागि अनलाइन आवेदन दिने तरिका सिकाउँदै छाैँ ।
फाराम भर्न आवश्यक पर्ने कागजातहरु (अधिकतम फाइल साइज २ एमबी)
१) दुई कान प्रस्ट देखिने सादा ब्याकग्राउन्ड भएको पासपोर्ट साइजको फोटो । (फोटोमा देखिएको अनावश्यक भाग क्रप गर्नुपर्ने)
२) आफ्नो हस्तक्षरको स्क्यान कपी (साधा पेपरमा हस्ताक्षर गरी फोनबाट फोटो खिचेर अनावश्यक भाग क्रप गरी तयार पारेर) राख्नुपर्ने हुन्छ ।
३) नागरिकताको स्क्यान कपी ।
४) समावेशी समूहमा आवेदन दिन समावेशी प्रमाणपत्रको स्क्यान कपी ।
५) आवेदन दिने पद अनुसार आवश्यक पर्ने शैक्षिक प्रमाणपत्रहरू (Transcript and Character Certificate)
६) विदेशी विस्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalent Certificate )
७) अनुभव आवश्यक पर्ने पदका लागि अनुभवको प्रमाणपत्र
८) राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीहरूका लागि मात्र नियुक्तिपत्र
फाराम भर्नुअघि आवश्यक पर्ने कुराहरूः
१) ईमेल एड्रेस: भविष्यमा पनि यो आवश्यक हुने भएकाले, ईमेल र पासवर्ड सुरक्षित राख्नुपर्ने ।
२) मोबाइल नम्बर: नतिजा प्रकाशन हुने बेलासम्म आवश्यक हुने भएकोले प्रयोगमा हुने मोबाइल नम्बर राख्नुपर्ने ।
माथिका कुराहरू ख्याल गरिसकेपछि अब अनलाइन फारम भर्न सक्नुहुन्छः
-सबैभन्दा पहिले यहाँ क्लिक गरी राष्ट्रिय वाणिज्य बैंकको अनलाइन पोर्टलमा जानुहोस् ।
-त्यसपछि आफूले आवेदन दिन चाहेको पदको अन्तिममा रहेको एप्लाइ (Apply) बटनमा क्लिक गर्नुहोस् ।
-अनि, नयाँ खुल्ने पेजमा आफ्नो पहिलो नाम, अन्तिम नाम, ईमेल एड्रेस र अन्तिममा क्याप्चा राखी रजिस्टरको बटनमा क्लिक गर्नुहोस् ।
-त्यसपछि तपाईंले त्यहाँ राखेको ईमेलमा भेरिफिकेसनम लिङ्क (verification link) आउँछ । (कहिलेकाहीँ यस्तो ईमेल जङ्क (Junk) वा स्पाम (SPAM) फोल्डरमा जाने भएकाले सो समेत चेक गर्नुहोला)।
-ईमेलमा आएको उक्त लिङ्कमा क्लिक गरी आफ्नो युजर भेरिफाई (user verify) गर्ने तथा उल्लेखित मापदण्ड अनुसारको नयाँ पासवर्ड राख्नुहोस् ।
-यति गरेपछि आफूलाई उपयुक्त लाग्ने पासवर्ड राख्नुहोस् (पासवर्ड राख्दा कम्तीमा आठ ओटा क्यारेक्टरको राख्नुपर्ने हुन्छ । जसमा एउटा क्यापिटल लेटर, अङ्क र अक्षर समावेश गरेको हुनुपर्छ ।)
तपाईंको अकाउन्ट तयार हुन्छ । अकाउन्ट तयार भइसकेपछि तलको प्रक्रिया अपनाउनुहोस्:
-लगइन पेजमा आफ्नो ईमेल आईडी र पासवर्ड राखेर लगइनको बटनमा क्लिक गर्नुहोस् ।
-(पासवर्ड हराएमा लगइनभित्र गइ फर्गेट पासवर्ड (Forget Password ?) मा क्लिक गरी आफ्नो ईमेलबाट पावर्ड रिसेट समेत गर्न सक्नुहुन्छ । )
-यति गरेपछि तपाईंले ध्यान दिनुपर्ने सूचना राखिएको हुन्छ । उक्त सूचना पढ्न सक्नुहुन्छ ।
-यति भएपछि होमपेज खुल्छ । जहाँ तपाई ‘अदर भ्याकेन्सिस (Other Vacancies) मा क्लिक गरी उपलब्ध पदको सूची देख्न सक्नुहुन्छ ।
-त्यसपछि आफूलाई इच्छा लागेको र आफ्नो योग्यता पुग्ने पदको दायाँपट्टि एप्लाई (Apply) मा क्लिक गर्नुहोस् ।
-अनि त्यहाँ बुझाउन भनिएका कागजात र अन्य विवरण भरेर अन्तिममा ‘सेभ एन्ड नेक्स्ट’को बटनमा क्लिक गर्नुहोस् ।
-अन्तिममा शुल्क भुक्तानीको काम गर्नुपर्ने हुन्छ ।
कसरी भुक्तानी गर्ने ?
१. भुक्तानी गर्न आफूले एप्लाई गरेको एप्लिकेसनको ‘शुल्क भुक्तानी’ ट्याबमा उपलब्ध अप्सनमध्ये आफूले भुक्तानी गर्न चाहेको अप्सन छान्नुहोस् ।
(यसरी भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ, तथा नमस्ते पेबाहेक अन्य तरिकाले भुक्तानी गर्दा सेवा प्रदायकको नियमानुसारको सेवा शुल्क लाग्नेछ ।)
२) खुलेको पेजमा वालेट वा बैंकको लगइन आइडी तथा पासवर्ड राख्नुहोस् ।
३) लगइन भएपछि आफूले रजिस्टर गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ओटीपी कोड आउँछ । उक्त कोड, पेमेन्ट गर्न लागिएको वेब पेजमा राखी ‘पे’ बटनमा क्लिक गर्नुहोस् ।
४) पेमेन्ट सक्सेस भए नभएको जानकारी एप्लिकेसन फर्म प्रविष्ट गरेको मोबाइलमा एसएमएस प्राप्त हुनेछ ।